arrow

खेलकुद र शिक्षामा दलीय राजनीति बन्द गर्छु: मन्त्री पोखरेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
sasmit-pokhrels.jpg

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने उद्घोष गरेका छन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पेसागत क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप नै काम गर्ने वातावरण बिगार्ने मुख्य कारण रहेको र यसलाई रोक्नु नै आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे।

मन्त्री पोखरेलले खेलकुदका निकायहरूमा अब राजनीति गर्ने व्यक्तिहरू नभई सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवी खेलाडीहरू मात्र पुग्नुपर्नेमा जोड दिए। "नेपालको समस्या नै जहाँ राजनीति गर्नुपर्ने हो त्यहाँ हुँदैन, जहाँ नगर्नुपर्ने हो त्यहाँ भइरहेको छ," उनले भने, "राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायतका सबै निकायमा अब विज्ञहरूलाई मात्र राखेर अगाडि बढ्ने हाम्रो योजना छ।"

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा देखिएको लामो समयदेखिको विवादबारे टिप्पणी गर्दै मन्त्री पोखरेलले यसको मुख्य कारण पनि अत्यधिक राजनीतिकरण नै रहेको बताए। उनले एन्फा र राजनीतिलाई दुई अलग धारका रूपमा छुट्याएर मात्रै फुटबलको विकास सम्भव हुने तर्क गरे। खेल क्षेत्रको गरिमा जोगाउन र विकास गर्न विज्ञहरूसँगको सहकार्य नै आफ्नो कार्यकालको मेरुदण्ड हुने उनको दाबी छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेका पोखरेलले पेसागत रूपमा जहाँ-जहाँ राजनीतिकरणले काम गर्न कठिन बनाएको छ, ती सबै ठाउँमा सुधारको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलकुदलाई राजनीतिक अखडा बनाउने परिपाटी अन्त्य गरी वास्तविक खेलाडी र विज्ञहरूको सम्मान गर्ने उनको योजनाले खेल प्रेमीहरूमा नयाँ आशा जगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ