नेप्से २६ अंकले घट्दा कारोबार रकम झन्डै १२ अर्बमा खुम्चियो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
703
Shares
काठमाडौँ । साताको पहिलो कारोबार दिन उत्साहजनक रूपले बढेको शेयर बजारमा सोमबार भने गिरावट देखिएको छ। अघिल्ला दुई कारोबार दिन लगातार बढेको बजारमा यस दिन 'प्रोफिट बुकिङ' हाबी हुँदा नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा ओर्लिएको छ।
बजार घटेसँगै सेन्सेटिभ इन्डेक्स ६.३८ अंक र फ्लोट इन्डेक्स २.०७ अंकले ओरालो लागेका छन्। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार १४ अर्ब ३२ करोड रुपैयाँको उच्च कारोबार भएकोमा सोमबार ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले बताए।
बजार घटे पनि चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला र सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। होटल फरेष्ट इनको मूल्य करिब १० प्रतिशतले वृद्धि हुँदा पिपुल्स हाइड्रोपावरको शेयर साढे ६ प्रतिशतले बढेको नेप्सेले बताए।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी ६८ करोड ७७ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। त्यस्तै नेशनल हाइड्रोपावरको ६६ करोड र अप्पर हेवाखोलाको ४१ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सोमबार १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह मात्रै बढ्न सफल भयो भने बाँकी १२ उपसमूहको सूचक रातो रह्यो। बैंकिङ, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेकाले समग्र बजारमा दबाब देखिएको विश्लेषकहरूले बताए।