नेप्से परिसूचक २६.७२ अङ्कले ओरालो लाग्दै २७५५.३७ मा सीमित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
744
Shares
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज २६ दशमलव ७२ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ७२ अङ्क अर्थात् शून्य दशमलव ९६ प्रतिशतले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सीमित भएको हो।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि खुलेको बजार चलायमान बन्ने र सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिए पनि बजारमा भने गिरावट देखिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि चार दशमलव ७८ अङ्कले ओरालो लागेर ४७० दशमलव ७२ मा सीमित भएको छ।
आज बजारमा कुल ३ सय ४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर रु ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मूल्यमा किनबेच भएको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहन सफल भएको छ भने नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनी पनि कारोबारका आधारमा शीर्ष स्थानमा रहेका छन्।
नेप्सेका अनुसार समग्र बजार घटे पनि नेपाल पुनर्बीमा कम्पनी, कालिञ्चोक हाइड्रोपावर, सिटिजन्स बैंकको डिबेञ्चर, सेन्ट्रल फाइनान्स र सिभिल बैंकको डिबेञ्चरका लगानीकर्ताले आज कमाएका छन्।
अर्कोतर्फ बुङ्गल हाइड्रोपावर, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन्। आज कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्यमा मात्रै वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सेयर मूल्य घटेको छ।