काठमाडौँ । नेपाल आयल निगमले बजारमा व्याप्त ग्यासको अभावलाई न्यूनीकरण गर्न शुक्रबारदेखि देशभर आधा भरिएको सिलिन्डर वितरण प्रक्रिया सुरु गरेको छ। देशमा ग्यासको आयात खपतको अनुपातमा नियमित भइरहे पनि उपभोक्तामा उत्पन्न मनोवैज्ञानिक त्रासका कारण घरघरमा सञ्चिति गर्ने क्रम बढेपछि वितरण प्रणालीमा अवरोध देखिएको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सुरुमा निर्वाचनका बेला आपूर्ति ठप्प हुन सक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गर्न थालेका थिए भने पछिल्लो समय मध्यपूर्वमा भएको आक्रमण र विश्वव्यापी ऊर्जा संकटको चर्चाले सञ्चिति गर्ने प्रवृत्ति झनै तीव्र बनेको हो।
ग्यासको आयात तथ्याङ्कलाई हेर्दा गत पुसमा ४७ हजार र माघमा ४६ हजार मेट्रिक टन आयात भएको थियो भने फागुन २६ गतेसम्म मात्रै साढे ४६ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ।
मासिक औसत खपत ४५ देखि ४६ हजार मेट्रिक टन मात्रै भए पनि उपभोक्ताले अभावको डरले अनावश्यक भण्डारण गर्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको हो। यसले गर्दा विशेषगरी मध्यम वर्ग, विद्यार्थी र दैनिक ज्यालादारी गर्ने मजदुरहरू एउटा सिलिन्डरका लागि महिनौँ कुर्नुपर्ने बाध्यतामा परेका छन्।
यही गम्भीर समस्यालाई सम्बोधन गर्न निगमले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको हो। यसअघि पूर्ण सिलिन्डरका लागि १ हजार ९ सय १० रुपैयाँ तिर्नुपर्नेमा अब आधा सिलिन्डरको मूल्य ९५५ रुपैयाँ कायम गरिएको छ।
प्रवक्ता ठाकुरले अन्तर्राष्ट्रिय युद्धका कारण हालसम्म आयातमा कुनै समस्या नआएको स्पष्ट पार्दै उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास सञ्चित नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग गर्न आग्रह गरेका छन्।