दैनिक पाँच हजार लाइसेन्सको माग, २५ लाखलाई वितरण गर्न बाँकी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
789
Shares
काठमाडौँ । दैनिक पाँच हजार सवारी लाइसेन्सको माग हुने गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यसअघि आवेदन दिइसकेका २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी छ ।
अहिले अत्यावश्यक भएकालाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराउने गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।
उनका अनुसार विभागमा दैनिक करिब पाँच सय जना इमरजेन्सी भन्दै लाइसेन्स लिन आउने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको छ ।
अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि लाइसेन्ससम्बन्धी डेटा सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ । त्यहाँबाट पाँच देखि सात दिनभित्र लाइसेन्स प्रिन्ट भएर आउने र त्यसपछि वितरण गरिने व्यवस्था गरिएको पोखरेलले बताए ।
उनका अनुसार लाइसेन्सको समस्या समाधान गर्न विभागले विभिन्न उपाय अपनाएको छ। नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था गरिएको छ र ट्राफिक प्रहरीले पनि त्यसलाई मान्यता दिने गरेको छ ।
ट्राफिक नियम उल्लंघन भएमा सोही लाइसेन्सका आधारमा चिट काट्न र जरिवाना अनलाइनमार्फत तिर्न सकिने व्यवस्था छ । यसले लाइसेन्स वा रसिद बोकिरहनुपर्ने बाध्यता हटेको विभागको भनाइ छ ।
जेन-जी आन्दोलनका बेला विभागमा लागेको आगलागीका कारण करिब दुई लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएका थिए ।
तर अहिले लाइसेन्स छपाइको काम जारी रहेको र केही सेवाग्राही भने तयार भइसकेको लाइसेन्स लिन नआएको अवस्था रहेको पोखरेलले बताए ।
उनका अनुसार जेन-जी आन्दोलनका बेला संसद भवन नजिक रहेका कारण विभाग आन्दोलनको केन्द्रमा परेको थियो र सबैभन्दा बढी क्षति पुगेको थियो ।
विभाग पूर्णरूपमा क्षतिग्रस्त भए पनि कर्मचारीको प्रयासबाट करिब ६० लाख ड्राइभिङ लाइसेन्सको डेटा पुनर्जीवित गर्न सफल भएको उनले जानकारी दिए ।
उनका अनुसार आन्दोलनका बेला लाइसेन्स प्रिन्ट गर्ने मेसिन जलेर नष्ट भएको थियो । त्यसपछि सेक्युरिटी प्रिन्टिङ प्रेस बनेपासँग सम्झौता गरेर लाइसेन्स छपाइको काम अघि बढाइएको छ ।
विभागका अनुसार वैदेशिक रोजगारीमा जाने वा अन्य आपतकालीन आवश्यकताका लागि लाइसेन्स चाहिने व्यक्तिले निवेदन दिएपछि प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गरिँदै आएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरेर उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ र क्रमशः सबैले लाइसेन्स पाउने पोखरेलले बताए ।
उनका अनुसार दैनिक पाँच हजार लाइसेन्सको माग छ भने पहिले आवेदन गरिसकेका २५ लाखलाई लाइसेन्स दिन बाँकी छ। अहिले आवश्यक परेकालाई तत्काल लाइसेन्स दिइँदै आएको छ।
उनले डिजिटल प्रणालीका कारण अहिले लाइसेन्ससम्बन्धी समस्या पहिले जस्तो गम्भीर नरहेको बताए ।