काठमाडौँ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ।
विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशन गरिने जानकारी गराएको छ।
विभागका अनुसार, यसअघि सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात् ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी प्रणालीमार्फत सन्देश पठाउने गरिएको थियो। तर, हालैको जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएको थियो।
अब फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा आवेदकहरूलाई सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ।