प्रचारप्रसार र निःशुल्क भिसाले मात्र गुणस्तरीय पर्यटक आउँदैनन्: महानिर्देशक तिवारी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
508
Shares
काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन्। मङ्गलवार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारभन्दा पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ छ। तिवारीले पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार र आकर्षक ‘प्रोडक्ट’ (उत्पादन) विकास गर्न सके पर्यटकहरू स्वतः आउने दाबी गरे।
कार्यक्रममा बोल्दै उनले भने, ‘म पनि टुरिजम बोर्डको मेम्बर छु। हामीले प्रमोशन गरेर एक जना टुरिष्ट पनि थपिएको छैन। किनभने त्यस्तो क्वालिटीको कोही पनि पर्यटक नेपाल आएकै छैनन्। पर्यटनको लागि आवश्यक पूर्वाधार र उत्पादन भयो भने पर्यटक स्वंय आउने रहेछन्। यो निःशुल्क भिसा दिएर र प्रमोशन गरेर पर्यटक आउने भए अफगानिस्तानले भिसा नै नलिँदा पनि कोही जाँदैन, अमेरिकाले लाखौँ रुपैयाँ धरौटी राख्न भने पनि तिरेकै छन्। किनभने त्यहाँ पर्यटकीय पूर्वाधार र प्रोडक्ट छ नि।’
महानिर्देशक तिवारीले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित बनाउँदै निकट भविष्यमै पर्यटकहरूलाई ‘युनिक आईडी’ (विशिष्ट पहिचान नम्बर) दिने तयारी भइरहेको जानकारी दिए। पर्यटकहरूलाई प्रोत्साहन गर्न अध्यागमनमा दुई मिनेटको समय खर्चिएर भए पनि आफूहरूले काम गर्ने उनले स्पष्ट पारे। तर, क्युआर कोड पर्यटकले भरेर विभागलाई सजिलो बनाइदिने नभई पछि पर्यटकका लागि युनिक आईडी अनिवार्य (म्यान्डेटरी) गरिने उनको भनाइ छ।
यसका साथै, काठमाडौं उपत्यकाका सबै होटेलहरूलाई अध्यागमन विभागमा दर्ता गराई अनिवार्य रूपमा अनलाइन प्रणालीमा राख्ने तयारी भइरहेको समेत उनले बताए।