नयाँ संसद भवन चैत १ गतेभित्र हस्तान्तरण गर्न मन्त्री इङनामको निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
680
Shares
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले निर्माणाधीन नयाँ संघीय संसद भवनको काम चैत १ गतेभित्र सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिएका छन्।
स्थलगत अनुगमनपछि उनले निर्धारित समयमै काम नसकिएकोप्रति असन्तुष्टि जनाउँदै उनले प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र सचिवालयका भवनहरू जसरी पनि चैत १ भित्र हस्तान्तरण गर्नुपर्ने बताए।
सिभिलतर्फको काम मोटामोटी सकिए पनि फिनिसिङमा ढिलाइ भएको देखेर दक्ष जनशक्ति थप्न निर्देशन दिएको उनले बताए ।
निर्देशनपछि निर्माण कम्पनीले बारा र रौतहटबाट थप कामदार मगाएर कामलाई तीव्रता दिएको उनले बताए।
निर्माणका क्रममा केही प्राविधिक चुनौती देखिएको र चीनबाट ल्याउनुपर्ने केही सामग्री क्रिसमस र अन्य बिदाका कारण ढिलो भएको ठेकेदारको भनाइ छ।
ती सामग्री फागुन २५ गतेसम्म आइपुग्ने र जडान गरिने आश्वासन निर्माण पक्षले दिएको छ।
यस्तै, भारतबाट ल्याउनुपर्ने ३० मिटर लामो इलेक्ट्रोनिक प्यानल र चार मेगावाट क्षमताको विद्युतीय प्रणाली जडानको काम पनि बाँकी छ।
वीरगञ्ज भन्सारमा रोकिएका सामग्री आउने क्रम शुरू भइसकेकाले चैतको शुरूआतमै भवन पूर्ण रूपमा तयार हुने विश्वास तिमीले व्यक्त गरेका छौ।
मन्त्री इङनामले कामको गति अझै पर्याप्त नभएको भन्दै थप दक्ष जनशक्ति परिचालन गर्न र ढिलाइ नगरी ह्याण्डओभर सुनिश्चित गर्न निर्देशन दिएकाे बताए ।
ठेकेदार पक्षले आवश्यक सामग्री २५ गतेसम्म ल्याएर जडान गर्ने र १, २ चैतसम्म मुख्य भवन, सेन्ट्रल लबी र प्रतिनिधि सभाको भाग हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
चैत १ गतेदेखि सेन्ट्रल लबी, प्रतिनिधि सभा, क्यान्टिनसहित सांसदहरूको कार्यकक्षहरू हस्तान्तरण हुनेमा आफू आशावादी रहेको बताए।
नयाँ भवन हस्तान्तरण भएपछि संघीय संसदका बैठकहरू आफ्नै अत्याधुनिक भवनमा सञ्चालन हुने अपेक्षा गरिएको छ।