सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा नलिन आग्रह गरेका छन् ।
सर्लाही-३ क्षेत्रमा आयोजित चुनावी भेटघाट तथा सम्बोधन कार्यक्रममा श्रेष्ठले मतदातालाई अपिल गर्दै यो चुनावले देशको भविष्य र दिशालाई निर्णायक रूपमा निर्धारण गर्ने बताएका हुन् ।
उनले भने, ‘यो चुनावमा केवल भोट हालेर मात्र पुग्दैन, हाम्रो एक-एक मतले नेपालको भविष्य बनाउने वा बिगार्ने क्षमता राख्छ ।’
श्रेष्ठले पार्टीले निरंकुश शासन अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे ।
उनले दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, किसान-मजदुर तथा पिछडिएका क्षेत्रका समुदायको अधिकार सुनिश्चित गर्न संविधानमार्फत समावेशीकरण र समानताको आधार निर्माण गरिएको दाबी गरे ।
उनले संघीयता आएपछि केन्द्रमा मात्र सीमित सरकार अब प्रदेश, स्थानीय तह र वडा तहसम्म विस्तार भएको भन्दै जनताका सेवा-सुविधा आफ्नै ठाउँबाट पाउन सकिने व्यवस्था स्थापित भएको बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासनबारे बोल्दै श्रेष्ठले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी लगायतका मुद्दामा कारबाही अघि बढाइएको बताए ।
मिटरब्याज पीडितको समस्यालाई गम्भीर सामाजिक मुद्दा भन्दै श्रेष्ठले पीडितलाई न्याय दिलाउन आयोग गठन, कानुनी प्रक्रिया र प्रशासनिक पहल गरिएको उल्लेख गरे ।