माओवादीले फेरि माग्यो बहुमत, नारायणकाजी भन्छन् - देश बनाउन सहयोग गर्नुस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
891
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक नेकपा (माओवादी केन्द्र) लाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आम नागरिकलाई आह्वान गरेका छन्।
आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए। आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको बताउँदै उनले पार्टी प्रवेशको लहर पनि बढेको दाबी गरे। श्रेष्ठले भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप लगाए। उनले अहिलेको सरकार भ्रष्ट र निरङ्कुश सरकार रहेको जिकिरसमेत गरे।
श्रेष्ठले भने, "हामीले जनतालाई अपिल गरेका छौँ कि यो देशलाई बनाउने हो भने तपाईंहरूले फेरि नेकपा (माओवादी केन्द्र) लाई एक पटक बहुमतको सरकार बनाउने गरी समर्थन गर्नुपर्छ। यो पार्टीलाई सशक्त बनाउन पनि तपाईंहरूले सहयोग गर्नुपर्छ। र आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्छ। हाम्रो कार्यक्रमहरूमा जनताको सहभागिता राम्रो भएको छ। पार्टी प्रवेशको लहर बढेको छ।"
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरू रोक्ने प्रयत्न भइरहेको बताउँदै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो पूरा गर्न दबाब दिनुपर्ने बताए।