बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार : अध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
658
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलासाय युक्त जलविद्युत आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका छन्।
उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरूको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको बताए।
नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताएका छन्।
अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरू जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गरे।
उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेको बताए।
“गत भदौको जेन जी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटेल तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी र क्षति भएको अवस्था थियो। तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसायहरू मर्मत, सम्भार र पुनर्निर्माण गर्दै सञ्चालनमा समेत ल्याई सकेका छौँ। निजी क्षेत्र कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेका छौँ,” उनले भने।
उनले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभीत भएको बताए। “निजी क्षेत्रले उत्पादन गरेको छ। पूर्वाधार निर्माण गरेको छ। सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजश्व तिरेको छ । तर, यो निजी क्षेत्र किन सधैँ उपेक्षित भएको छ,” उनले प्रश्न गरे।
अध्यक्ष ढकालले स्थानीय रूपमा आयोजना गरिने मेला महोत्सव रुले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै यस्ता मेला महोत्सवहरूलाई महासङ्घले सदैव प्राथमिकतामा राख्ने गरेको बताए।
“यस्ता मेला महोत्सव रुले स्थानीय उत्पादन तथा सम्भावनाहरूलाई प्रवर्द्धन गर्न सहयोग पुग्छ। यसले स्थानीय स्तरमा आर्थिक गतिविधिहरू विस्तार गर्न, रोजगारी सृजना गर्न सहयोग पुर्याउने हुनाले हामीले यस्ता मेला महोत्सवहरूलाई विशेष महत्वका साथ अगाडि बढाउने गरेका छौँ,” उनले भने।