निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छः अध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
583
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको वृहत्तर हित र समृद्धिका लागि महासंघमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन्। महासंघको ६०औँ साधारण सभाको पूर्वसन्ध्यामा आयोजित वस्तुगततर्फका कार्यकारिणी सदस्यहरूको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
अध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व चयन गर्दा सम्भव भएसम्म सर्वसम्मतिको बाटो रोज्न आग्रह गरे। "हामी निजी क्षेत्रका मान्छेहरू एक भएर सर्वसम्मत रूपमा अगाडि बढ्नुपर्छ," उनले भने, "प्रदेशहरूमा सर्वसम्मत नेतृत्वको लहर सुरु भइसकेको छ, यो सकारात्मक सन्देश केन्द्रमा पनि आउनुपर्छ।" उनले उम्मेदवारहरूलाई अरूको आलोचना गरेर भन्दा पनि आफ्नो एजेन्डा र क्षमता प्रस्तुत गरेर मत माग्न सुझाव दिए।
आफ्नो कार्यकालको उपलब्धिका रूपमा 'प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान' (निजी क्षेत्र सुरक्षा तथा प्रवर्द्धन योजना) लाई प्रस्तुत गर्दै ढकालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै यसलाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको जानकारी दिए। उनले निजी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको तथ्य स्मरण गराउँदै व्यावसायिक प्रतिष्ठानहरूलाई सुरक्षित क्षेत्रका रूपमा हेरिनुपर्नेमा जोड दिए।
कुनै ठूलो व्यावसायिक विरासत नभए पनि कडा मेहनत र इमान्दारिताका कारण आफू महासंघको नेतृत्वमा पुग्न सफल भएको बताउँदै उनले आगामी नेतृत्वलाई पनि पवित्र भावनाका साथ कर्म गर्न प्रेरित गरे। उनले महासंघभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर व्यावसायिक समस्याहरूको पैरवी गर्न सबै पदाधिकारीहरूलाई आग्रह समेत गरे।