arrow

अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
chandra-dhakal-walangin-jan-2026.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन्। आज स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेका हुन्। 

उनले भने– राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो। देशमा यतिखेर संसद्को निर्वाचनको तयारी भइरहेको छ। सबै दलको साझा एजेण्डा आर्थिक विकास बनोस्। म सबै दललाई यही आग्रह गर्न चाहन्छु।

साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरूले आआफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई समावेश गर्न पनि आग्रह गरे।

उनले औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेण्डाहरु राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेण्डाले प्राथमिकता पाउनुपर्ने उनको तर्क थियो।

उनले जुनसुकै सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको, यसका लागि सबै दलहरूलाई एकै मञ्चमा राखेर यस विषयमा महासङ्घले नै बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको प्रसङ्ग उल्लेख गर्दै अहिले सो आयोगका सुझावहरू पनि कतिपय कार्यान्वयनमा आएका स्मरण गरे। 

अध्यक्ष ढकालले देशमा आर्थिक लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरूको संशोधन देखि महासङ्घको विधानलाई समय सापेक्ष बनाउने सम्मका काम आफू महासङ्घको नेतृत्वमा आएपछि सम्पन्न भएका पनि स्मरण गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ