राष्ट्रिय सभामा दुई संसदीय समितिका वार्षिक प्रतिवेदनहरू पेश
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
799
Shares
काठमाडौँ । राष्ट्रिय सभामा बुधबार दुई महत्वपूर्ण संसदीय समितिका वार्षिक प्रतिवेदनहरू पेश गरिएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरिएको हो।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले प्रतिवेदन पेश गर्दै जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारलाई सचेत गराएका छन्। साथै, समितिले पुरानो संसद् भवनको प्रवलीकरण मा विशेष ध्यान दिन समेत सरकारसँग आग्रह गरेको छ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले पनि आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी छन्। सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउने उद्देश्यले प्रतिवेदन पेश गरिएको उनले बताइन्। प्रतिवेदनमा नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न र जलवायु परिवर्तनले पारेका असर न्यूनीकरणका लागि ठोस कदम चाल्न सरकारलाई निर्देश गरिएको छ।