बालेनलाई अघि बढाउन वाह्य शक्तिको लगानी रहेको प्रचण्डको आरोप [भिडियो]
विचार र सिद्धान्तभन्दा पपुलिजम हाबी भयो, कम्युनिष्ट र देशभक्त शक्ति मिले मात्रै देश जोगिन्छ
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
1k
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह बालेनको चर्चा र उदयका पछाडि वाह्य शक्तिहरूको ठूलो लगानी रहेको आरोप लगाएका छन्।
मंगलवार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र चुरे भावर पार्टीबीचको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार, सिद्धान्त र बलिदानको राजनीतिभन्दा पनि केवल 'स्टन्ट' का भरमा लोकप्रिय हुन खोज्नेहरूलाई देशी–विदेशी शक्तिले प्रमोट गरिरहेको दाबी गरे।
संयोजक दाहालले अहिलेको समयमा राजनीतिक मूल्यमान्यता र त्यागलाई सम्मान गर्ने सामाज निर्माणको सट्टा स्टन्टबाजीलाई प्राथमिकता दिइएकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता शक्तिहरूको लगानीबारे सबै सचेत हुनुपर्नेमा जोड दिए।
उनले मुलुकमा भ्रष्टाचार विरुद्धको अभियान, सामाजिक न्याय र आर्थिक विकासका लागि विचारमा आधारित आन्दोलन आवश्यक रहेको उल्लेख गर्दै कम्युनिष्ट र वामपन्थी शक्तिहरूबीचको ध्रुवीकरण र एकता अभियानलाई तीव्रता दिनुको मुख्य कारण पनि यही भएको प्रष्ट पारे।
इतिहास र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नै आफूहरूले नयाँ कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो। संयोजक दाहालले कम्युनिष्ट र देशभक्त शक्तिहरूको एकताले मात्रै मुलुकलाई हालको संकटबाट जोगाउन सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई पार्टी एकताको यो महाअभियानमा समाहित हुन आह्वान समेत गरे।