देश बनाउन कलमले मात्र पुग्दैन, गैँटी र बेल्चा चलाउन पनि जरुरी छ : हर्क साम्पाङ
जलेर खरानी भएको देश बनाउन भावनामा होइन, श्रममा विश्वास गरौँ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
970
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले देशको विकास र समृद्धिका लागि नीति निर्माणसँगै श्रमदान अनिवार्य रहेको बताएका छन्। शुक्रबार इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।
अध्यक्ष राईले श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिता बिना देशको विकास सम्भव नहुने धारणा राखे। "जलेर खरानी भएको हाम्रो देशलाई सबै मिलेर पुनः निर्माण गर्नुपर्छ," उनले भने, "भावनामा बहकिएर होइन, देश र जनताको हितमा काम गर्ने र देश बचाउनेलाई आगामी निर्वाचनमा भोट दिनुहोस्।"
भ्रष्टाचार र परम्परागत राजनीतिको आलोचना गर्दै उनले देश बनाउन गैँटी र बेल्चा चलाउने हिम्मत हुनुपर्ने बताए। उनले थपे, "म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्छु। देश विकासका लागि कलमले मात्र पुग्दैन, फिल्डमै खटिन आवश्यक छ।"
आगामी फागुनमा हुने निर्वाचनबारे चर्चा गर्दै राईले आवधिक निर्वाचन नै लोकतन्त्रको मूल आधार भएको बताए। निर्वाचन नहुँदा लोकतन्त्र अपहरणमा पर्ने खतरा औँल्याउँदै उनले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरोकारवाला निकायहरूबीच आवश्यक समन्वय हुनुपर्नेमा जोड दिए।