नेप्से ४.५९ अङ्कले बढ्दा चार अर्ब ९० करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
766
Shares
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन बुधबार ओरालो लागेको बजारले यस दिन ४.५९ अङ्कको वृद्धि दर्ता गर्दै २६४०.५४ विन्दुमा विश्राम लिएको छ। बजारका अन्य महत्त्वपूर्ण सूचकहरू सेन्सेटिभ इण्डेक्स ०.९२ अङ्क, फ्लोट इण्डेक्स ०.४५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.३५ अङ्कको बढोत्तरी देखिएको छ। परिसूचक सकारात्मक रहे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही घटेको छ।
आज ३२८ वटा कम्पनीको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन सान्भि इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेर लगानीकर्तालाई आकर्षित गरेको छ भने एसवाई प्यानल नेपालको शेयरमूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। बजारमा मूल्य घटेका स्टकहरूको गिरावट दर ४ प्रतिशतभन्दा कम रहँदा समग्र लगानीकर्तामा केही उत्साह देखिएको छ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल २० करोड ६ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहन सफल भयो। त्यसैगरी बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोड र सान्भि इनर्जीको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। बजारका कुल १३ उपसमूहमध्ये ७ वटा उपसमूह सकारात्मक देखिएका छन् भने ६ वटाको परिसूचकमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा लगानीकर्ताको आकर्षण देखिँदा बजारले सुधारको बाटो समातेको हो।