निर्वाचन सुरक्षामा 'विस्फोटक' चुनौती: तीनवटै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबारमा निम्तो
विस्फोटक पदार्थ व्यवस्थापनबारे सुरक्षा प्रमुखहरूको 'ब्रिफिङ' सुन्दै समिति
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
779
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आफ्नो सक्रियता बढाएको छ।
समितिले विशेषगरी बारुदी सुरुङ र विस्फोटक पदार्थको जोखिम तथा त्यसको व्यवस्थापनका विषयमा छलफल गर्न शुक्रबार तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई आमन्त्रण गरेको छ। समिति सभापति मायाप्रसाद शर्माका अनुसार निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि अपनाउनुपर्ने सावधानी र सुरक्षा रणनीतिबारे सरोकारवालासँग परामर्श गर्न लागिएको हो।
यस महत्त्वपूर्ण छलफलका लागि समितिले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई बोलाएको छ। निर्वाचनका समयमा हुन सक्ने सम्भावित सुरक्षा थ्रेट र विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रणका विषयमा सुरक्षा प्रमुखहरूले समितिलाई जानकारी गराउने छन्।
यसैबीच, समितिको आजको बैठकमा 'अध्यागमन ऐन, २०४९' को कार्यान्वयन र प्रत्यायोजित विधायनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि पनि विस्तृत छलफल भएको छ। बैठकमा सहभागी सांसदहरू नरबहादुर विष्ट, सुमित्रा विसी, श्रीकृष्णप्रसाद अधिकारी, गोमादेवी तिमिल्सना र रुक्मिणी कोइरालाले अध्यागमन प्रशासनलाई थप सुदृढ र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। समितिको यो सक्रियताले निर्वाचन सुरक्षा र मुलुकको कानुनी कार्यान्वयनको पक्षलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।