सानेपामा महामन्त्री थापाको विद्रोह: "तल्लो कमिटीले नचिनेका नामहरू माथिबाट लादियो, हाम्रो फरक मत छ"
कांग्रेस र एमालेका नेताले खल्तीका मान्छे व्यवस्थापन गर्न क्लष्टर बाँडे
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नेतृत्वमाथि तीखो प्रहार गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस र नेकपा (एमाले) बीचको चुनावी तालमेल पार्टीको हितमा नभई शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थ र 'खल्तीका मान्छे' व्यवस्थापन गर्नका लागि भएको आरोप लगाए।
महामन्त्री थापाका अनुसार कांग्रेसले प्रस्ताव गरेका ९ जना उम्मेदवारमध्ये तीन जनाको नाम तल्लो तहका कुनै पनि समितिबाट सिफारिस नै भएको छैन। "तल्लो कमिटीबाट सिफारिस नभएका नामहरू माथिबाट सिधै लादियो," उनले भने, "यसले संसदीय बोर्ड र केन्द्रीय समितिको मात्र होइन, जिल्ला र क्षेत्रीय समितिहरूले गरेको सिफारिसको समेत मानमर्दन र अपमान गरेको छ।"
समावेशिताको मर्ममाथि प्रहार उम्मेदवार चयनमा समावेशिताको मर्मलाई पूरै बेवास्ता गरिएको भन्दै थापाले आपत्ति जनाए। विशेषगरी ९ जनाको सूचीमा एक जना पनि जनजाति समुदायबाट नपर्नु र मुस्लिम समुदायका योग्य व्यक्तिलाई जानीजानी बाहिर राखिनु दुःखद भएको उनको भनाइ छ। "नेताहरूलाई आफ्नो गोजीको कुन मान्छे बनाउनु छ, त्यहीअनुसार क्लष्टर भागबन्डा गरिएको छ," उनले आरोप लगाए, "एमाले र कांग्रेस दुवैले कुन समुदायको नेता बनाउँदा आफ्ना मान्छे पर्छन्, ठ्याक्कै त्यही क्लष्टर आफ्नो भागमा पारेका छन्।"
एमालेसँगको तालमेलमा प्रश्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग राष्ट्रिय सभामा गरिएको तालमेलको औचित्यमाथि समेत थापाले प्रश्न उठाए। उनले पार्टीभित्र पछिल्लो समय महामन्त्रीहरूलाई 'पेल्ने' र भूमिकाविहीन बनाउने प्रयास भइरहेको गुनासो गर्दै उम्मेदवार चयनको यो सम्पूर्ण प्रक्रियामा आफूहरूको फरक मत रहेको स्पष्ट पारे।
दुई ठूला दलबीचको यो अप्रत्याशित सहकार्य र पार्टीभित्रका प्रभावशाली महामन्त्रीको विद्रोही आवाजले राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक सरगर्मी थप बढाएको छ।