विश्वप्रकाश र मेराविरुद्ध घेराबन्दी भयो : गगन थापा [भिडियो]
संख्याको दम्भ देखाएर विधान निलियोस्, साँघुरो घेराबन्दीले डराउँदैनौँ, हाम्रा पछाडि आम कार्यकर्ताको ठूलो घेरा छ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
771
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध घेराबन्दी सुरु भएको खुलासा गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्व र संस्थापन पक्षले विधान र प्रक्रियालाई मिच्दै दुई महामन्त्रीलाई कमजोर पार्ने खेल खेलिरहेको आरोप लगाए।
पार्टीभित्र पछिल्लो समय देखिएको शक्ति सङ्घर्षका विषयमा बोल्दै थापाले भने, "पार्टीको महामन्त्रीका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहँदा म र विश्वप्रकाश शर्मालाई 'कर्नर' गर्ने र घेराबन्दी गर्ने काम भएको छ। नेताहरूले संख्याको दम्भमा हामीमाथि प्रहार गरिरहेका छन् र सबै मिलेर हामीविरुद्ध मोर्चाबन्दी गरेका छन्।"
महामन्त्री थापाले पार्टी कार्यालयभित्रको साँघुरो घेराबन्दीले आफूहरूलाई कुनै फरक नपर्ने चेतावनी समेत दिए। "मैले नेताहरूलाई प्रष्ट भनेको छु-यहाँभित्र तपाईंहरू सबै मिलेर हामीलाई जति घेराबन्दी गरे पनि यो घेरा सानो छ। तर पार्टीका आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको घेरा धेरै ठूलो छ," उनले भने, "तपाईंहरूले हामीलाई यहाँ जति साँघुरो पार्नुहुन्छ, हामीलाई त्यो ठूलो घेरामा जान झन्-झन् बाध्य पार्दै हुनुहुन्छ।"
पार्टी विधान र लोकतान्त्रिक प्रक्रियालाई नेतृत्वले 'निल्दै' गएकोमा चिन्ता व्यक्त गर्दै थापाले यसको छिनोफानो अब आम कार्यकर्ता र नागरिकले गर्ने जिकिर गरे। दुई प्रभावशाली महामन्त्रीहरूलाई घेराबन्दी गरिएको यो अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक कलह नयाँ उचाइमा पुगेको सङ्केत गरेको छ।