arrow

कांग्रेसमा विधान उलंघनको खेल

पाँच प्रदेश सभापतिले बोले नेतृत्वको भाषा, विशेष महाधिवेशन छाडेर निर्वाचनमा जुट्न आग्रह [भिडियो]

महामन्त्रीद्वय विधान जोगाउन प्रयासरत, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको कदर गर्न सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
bir-bahadur-balayar-nc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्न पार्टीका सिंगो पंक्तिलाई आह्वान गरेका छन् । 

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले संयुक्त वक्तव्य जारी गर्दै पार्टीको नियमित महाधिवेशन र निर्वाचनमा तयारीमा एकतावद्ध भएर जुटन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

पार्टी केन्द्रीय कार्य सम्पादन समितिले २०८३ वैशाख २८-३१ मा नियमित महाधिवेशन गर्ने निर्णय गरेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले एकतावद्ध भई नियमित महाधिवेशनको तयारी र फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेद्वारहरूलाई विजयी गराउने कार्यमा जुट्न अनुरोध गरिएको पार्टीका सुदूरपश्चिम प्रदेशका सभापति बलायरले बताए ।

उनले भने, ‘नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको २०८२ साल पौष १८ को निर्णय अनुसार २०८३ बैशाख २८-३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकाले त्यस अघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको अवस्थामा देशभर सम्पूर्ण कांग्रेसजनहरूलाई एकतावद्ध भई नियमित महाधिवेशनको तयारी र फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेद्वारहरूलाई विजयी गराउने कार्यमा जुट्न हार्दिक अनुरोध गर्दछौँ ।’

यता पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहले भने विशेष महाधिवेशन गर्ने भन्दै त्यसको तयारीलाई तिब्रता दिइरहेका छन् ।

गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई माग पत्र बुझाएका थिए । 

कांग्रेसको विधानअनुसार नै उक्त माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्छ । तर नेतृत्व भने त्यसलाई बेवास्ता गरिरहेको छ । 

अहिले प्रतिनिधि सभा निर्वाचनको बहाना गरिए पनि इतिहासमा भने कांग्रेसले विशेष महाधिवेशन विशेष परिस्थितिमा गरेको थियो । 

कांग्रेस नेता एवं पूर्व सांसद दिब्यमणि राजभण्डारीले 'महाधिवेशन सहमति र एकतासहित २०१५ सालको आमचुनाव प्राप्त समय अगावै २०१४ सालमा भएको थियो' भनी सोमबार राति समाजिक सञ्जालमा लेखेका छन् । 

विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ का लागि हलसमेत बुक गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ