arrow

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारको टुंगो मंगलबार लगाउने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
prakashsharan-mahat-21-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेद्वार टुंगो लगाउने भएको छ । 

सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्वाचनका लागि उम्मेद्वार टुंगो लगाउने गरी मंगलबार पुनः बैठक बोलाउने निर्णय गरेको हो ।

सो निर्वाचनमा अन्य दलहरूसँगको चुनावी तालमेललगायतका विषय र उम्मेद्वारको विषय टुंगो लगाउन मंगलबार पुनः ११  बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले सोमबारको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरूसँग पार्टीको शीर्ष तहबाट छलफल भइराखेकाले मंगलबार बैठक बसेर त्यस बारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताए ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायतका नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रवक्ता महतले भने, ‘कार्य सम्पादन समितिको बैठक भोलि ११ बजे पनि बस्दैछ । राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय कसरी गर्ने ? छलफल जारी छ । अन्य राजनीतिक दलहरूसँगको सहकार्यको विषयमा नेतृत्व तहबाट छलफल भइरहेको छ । आज बेलुका, भोलिसम्म एउटा निष्कर्ष आउन सक्छ । कुराकानी हुँदैछ, भोली फेरि कार्य सम्पादन समितिको बैठक बसेपछि अनि छलफल कसरी अघि बढ्यो, त्यसको आधारमा हामीले के निर्णय गर्नेभन्ने निधो हुन्छ। छलफल सबै दलहरूसँग भइराखेको छ । जसको भोटिङ स्ट्रेन्थ छ । राष्ट्रियसभा निर्वाचनका लागि जसको निर्वाचित हुन हैसियत राख्ने दलहरू सबैसँग सहकार्यको कुरा भइराखेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सबै दलहरू जो राष्ट्रिय सभा निर्वाचनका लागि म्याटर गर्छ । जसको हैसियत छ । सबैसँग कुराकानी भइराखेको छ । र कुराकानीको निष्कर्ष के निस्कियो, त्यो भोलि बिहानसम्म थाहा पनि हुन्छ । अनि त्यसको आधारमा भोलि हाम्रो ११ बजे नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्छ । र भोलि नै हामी यो उम्मेद्वारबारे टुंगो लगाउन कोसिस गर्छौँ ।' 

नेपाली कांग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरूसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ