काठमाडौँ । स्पेनको अरागोन क्षेत्रमा गएको भीषण हिउँपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको छ। उत्तरी स्पेनको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो दुःखद दुर्घटना भएको हो।
स्पेनको सिभिल गार्डका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्। बास्क क्षेत्रबाट आएका पर्वतारोहीहरूको समूह करिब २ हजार ७ सय मिटरको उचाइमा रहँदा हिउँको ठूलो ढिक्का फुटेर खसेपछि उनीहरू पहिरोमा पुरिएका थिए। सरकारी प्रतिनिधि फर्नान्डो बेल्ट्रानले हिउँको विशाल ढिक्का खसेका कारण यो दुर्घटना भएको जानकारी दिएका छन्।
उक्त समूहका अन्य तीन जनाको भने सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन्।