राप्रपाको सर्त: निर्वाचनअघि राजा र 'जेन-जी' पुस्तासँग राष्ट्रिय सम्झौता हुनुपर्छ [भिडियो]
राप्रपा नेता गुरुङ भन्छन्– 'मन्त्रीहरू दलको दैलोमा आउनु राम्रो संस्कार'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
727
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र गुरुङले मुलुकको बेथिति र विद्यमान समस्या समाधान गर्ने उद्देश्यले मात्रै निर्वाचन गरिनुपर्ने बताएका छन्। बुधबार सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले 'निर्वाचनका लागि मात्रै निर्वाचन' गराउनेतर्फ सरकार लाग्न नहुने धारणा व्यक्त गरे।
आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनका सन्दर्भमा सरकारको तयारी अझै पर्याप्त नभएको नेता गुरुङले टिप्पणी गरे। यद्यपि, सरकारका मन्त्रीहरू राजनीतिक दलका कार्यालयमै पुगेर संवाद गर्नुलाई उनले सकारात्मक राजनीतिक संस्कारको संज्ञा दिए। "मन्त्रीहरू दलका कार्यालयमा पुग्नुले परिस्थितिलाई सहज बनाउने र निर्वाचनको माहोललाई सुमधुर बनाउन मद्दत पुग्छ," उनले भने।
छलफलका क्रममा राप्रपाले निर्वाचनको वर्तमान प्रक्रियामै सुधार गर्नुपर्ने माग अघि सारेको छ। नेता गुरुङले राजासहितको राजनीतिक दल र 'जेन-जी' पुस्तासँग संवाद र सम्झौता गरेर मात्रै अघि बढ्नुपर्ने प्रस्ताव सरकारसमक्ष राखेको जानकारी दिए। उनले भने, "अहिलेको चुनावी प्रक्रिया नै गलत छ, यसलाई सच्याउन सबै पक्षबीच राष्ट्रिय सम्झौता आवश्यक छ।"
कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल सम्मिलित सरकारी टोलीले निर्वाचनको वातावरण बनाउन राप्रपा नेताहरूसँग संवाद गरेको हो। राप्रपाले भने निर्वाचनको प्राविधिक तयारीभन्दा पनि मुलुकको दीर्घकालीन राजनीतिक निकास र व्यवस्थामा सुधारलाई प्राथमिकता दिनुपर्ने अडान राखेको छ।