निर्वाचनको माहोल बनाउन मन्त्रीहरूको दौडधूप: फागुन २१ को चुनावका लागि दलहरू तयार [भिडियो]
निर्वाचनका लागि उचित वातावरण बनिसक्यो, सबै दल तयारीमा छन्: सञ्चारमन्त्री खरेल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
660
Shares
काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकमा उचित वातावरण बनिसकेको दाबी गरेका छन्। बुधबार जनमत पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै राजनीतिक दलहरू निर्वाचनका लागि मानसिक र प्राविधिक रूपमा तयार रहेको जिकिर गरे।
निर्वाचनको वातावरण सुनिश्चित गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले प्रमुख राजनीतिक दलहरूसँगको छलफल उत्साहजनक रहेको बताए। "सरकारको तर्फबाट मुख्य दलहरूको कार्यालयमै पुगेर हामीले छलफल गरिरहेका छौँ," उनले भने, "हामीले भेटेका सबै दलहरू चुनावका लागि तयार भएको र वातावरण बनिसकेको सन्देश पाएका छौँ, यसले सरकारलाई थप उत्साहित बनाएको छ।" मन्त्री खरेलका अनुसार जनमत पार्टी पनि निर्वाचनका लागि पूर्ण रूपमा तयारी अवस्थामा देखिएको छ।
निर्वाचनको माहोल बनाउन र दलहरूलाई विश्वासमा लिन सरकारले उच्चस्तरीय सक्रियता बढाएको छ। संवाद समितिका तर्फबाट कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेल र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल विभिन्न राजनीतिक दलका कार्यालयहरूमा पुगेर छलफल गरिरहेका छन्। यो टोलीले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरिदिन दलहरूसँग आग्रह गर्दै आएको छ।