जेन-जी घटनाको जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
2k
Shares
काठमाडौँ । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद् भएको भन्दै महामन्त्री थापाले सडकमा आक्रोश व्यक्त हुनु स्वभाविक भएको पनि बताए।
उक्त घटनाबारे तत्कालीन सरकार र प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा भएको जिकिर गरे ।
नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नभइने उनको भनाइ छ । आफू पदमा भएको भए त्यसको जिम्मेवारी आफूले लिने उनको भनाइ छ ।
महामन्त्री थापाले भने, ‘भाद्र २३ गते एउटा अकल्पनीय घटना भयो । नेपालको इतिहासको एउटा दुःखद् घटना, कालो दिन । जहाँ हाम्रा थुप्रै नौजवान गुमायौँ । त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ । आक्रोश व्यक्त भयो सडकमा । त्यसको अर्को पाटो पनि छ । हामीले तत्काल २३ गते बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ र सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ । सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो । पोल्टिकल मोरालिटी अझ ठूलो कुरा हो । म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानविन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरुले लिनुपर्छ । म भए लिन्थेँ । जो छ उसले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।’
महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेन-जीहर"ले भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गरेको बताए ।