पुस १२ गते राष्ट्रिय सभा बैठक बोलाउने तयारी, बिजनेसको भने अभाव
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
897
Shares
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आगामी पुस १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने तयारी भइरहेको जानकारी दिएका छन्। मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले हल निर्माणको कार्य सकिनेबित्तिकै बैठक आह्वान गर्ने बताए।
अध्यक्ष दाहालले बैठक सञ्चालनका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग केही दिनभित्रै छलफल गर्ने योजना रहेको उल्लेख गरे। सरकार सदन बोलाउने कुरामा सहमत भए पनि बैठकका लागि आवश्यक 'बिजनेस' (कार्यसूची) को भने अभाव देखिएको उनले बताए। उनी भन्छन्, "हामीसँग करिब १० दिनसम्मका लागि मात्र पुग्ने बिजनेस छ, अरू विधेयकहरू छैनन्।"
उनका अनुसार हाल राष्ट्रिय सभामा ४ वटा मात्र विधेयक बाँकी छन्। प्रतिनिधि सभा विघटन भएका कारण त्यहाँ पुगेका विधेयकहरू निष्क्रिय भइसकेका छन् भने एउटा अध्यादेशमार्फत आएको आर्थिक विधेयकमा राष्ट्रिय सभालाई छलफल गर्ने अधिकार छैन। अध्यक्ष दाहालले सदनलाई प्रभावकारी रूपमा अगाडि बढाउनका लागि बिजनेसको बारेमा सोच्न सरकारलाई आग्रह गरिसकेको जानकारी दिए।