बोर्ड अध्यक्ष योग्यताक्रम र खुला प्रतिस्पर्धाबाट ल्याइने मन्त्री खरेलको प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
768
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रम (मेरिट)का आधारमा खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा चलचित्रसम्बन्धि विधेयकको दफावार छलफलका क्रममा उनले बोर्डलाई स्वायत्त बनाउनुपर्ने र अध्यक्ष खुला प्रतिस्पर्धाबाटै ल्याउनुपर्नेमा जोड दिए। उनले 'मन्त्री र प्रधानमन्त्रीका खल्तीका मान्छे भर्ती गर्ने' र 'नियुक्तिको लागि करोडौँको डिल गर्ने' अवस्थाको अन्त्य गर्न कानूनी प्रवन्ध गरिनुपर्ने तर्क गरे। उनले भने, "पकेटमा मान्छे राखेर यो देश बिग्रिएको, मन्त्री अनुकुलका, प्रधानमन्त्री अनुकुलका मान्छे राखेर बिग्रिएको, ... अनि करोडौँका डिल हुने, यो अवस्थाको अन्त्य गर्नुपर्छ।"
मन्त्री खरेलले अध्यक्ष खुला प्रतिस्पर्धामार्फत मेरिटवेशमा ल्याएपछि बोर्डका सदस्यहरूलाई भने समानुपातिक रूपमा मनोनित गर्न सकिने बताए। उनले बोर्डको अध्यक्षलाई चार वर्ष पूर्ण रूपमा काम गर्न पाउने गरी कानून बनाउनुपर्ने र काम नगरेको खण्डमा हटाउन मिल्ने पनि बनाउनुपर्नेमा जोड दिए। सरकार परिवर्तनपिच्छे अध्यक्ष परिवर्तन गर्न लाग्दा अपेक्षित काम गर्न नसकिने उनको भनाइ छ।
छलफलमा सहभागी सांसदहरूले पनि बोर्डलाई स्वायत्त बनाउनुपर्ने, कार्यक्षेत्र सातवटै प्रदेशमा विस्तार गर्नुपर्ने, र अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्दा समानुपातिक ढङ्गले गर्नुपर्ने बताएका थिए। सांसदहरूले बोर्डका सदस्यहरूलाई सरकारले हटाउन नपाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएका थिए। समिति सभापति तुलसाकुमारी दाहालले अर्को बैठकमा विधेयकमा फेरि छलफल हुने जानकारी दिइन्।