निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न सकिँदैन - चन्द्र ढकाल
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
820
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई नीति निर्माण र आर्थिक एजेन्डामा सहभागी नगराएसम्म देशको अर्थतन्त्र सबल बन्न नसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औँ वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनैपनि नीति निर्माणमा सहभागी नगराउने प्रचलनको अन्त्य गर्नुपर्ने बताए।
अध्यक्ष ढकालले कुनैपनि परिवर्तनपछि आर्थिक र नीतिगत पक्षमा एक भएर अघि बढ्ने कुरामा नेपाल पछि परेको जिकिर गरे। उनले भने "हामी कहाँ के छ भने प्राइभेट सेक्टरलाई हेर्ने दृष्टिकोण र प्राइभेट सेक्टरलाई सहभागी गराउने कुरा भरसक नगराउने चलन छ। त्यसैको फलस्वरुप चाहे कुनैपनि आन्दोलनबाट व्यवस्था परिवर्तन हुँदाखेरि पनि हाम्रा पोलिसीगत कुराहरु र खास गरेर इकोनोमिक एजेण्डामा अगाडि बढ्ने कुरामा हामी पछाडि परेका छौँ। जबसम्म निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान सकिँदैन, निजी क्षेत्रलाई टाढा राखेर बनाउने हरेक पोलिसीहरु प्रभावकारी बन्दैनन्। इकोनोमिक एक्टिभिटी बढाउने कुरा सम्भव हुँदैन। यो प्रमाणित पनि भइसकेको छ। जबसम्म कलेक्टिभ हिसावको एप्रोचमा जान सक्दैनौ तबसम्म वास्तवमा हामीले रियल खोजेको रिजल्ट आउन सक्दैन।"
अध्यक्ष ढकालले आन्तरिक पुँजी परिचालन गरेर धेरै ठूला आयोजनाहरू बनाउन सकिने सम्भावना रहेको बताए। उनले नेपालमा केही सम्भावना छैन भन्ने स्थानबाट नेपालमै सम्भावना छ भन्ने सन्देश आफूहरूले दिन सकेको पनि उल्लेख गरे।