arrow

समितिमा चलचित्र विधेयक

चलचित्रमा बैंक ऋण र वैदेशिक लगानी बढाउन विधेयकमा सुधार आवश्यक: बोर्ड अध्यक्ष दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
dinesh-dc-samiti.jpg

काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई आग्रह गरेका छन्।

शुक्रबार समितिको बैठकमा चलचित्र विधेयकमाथि छलफलमा बोल्दै अध्यक्ष दाहालले प्रष्ट नीतिको अभावमा चलचित्र क्षेत्रले समस्या झेल्नुपरेको भन्दै विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। उनले बैंकहरूले चलचित्रलाई बौद्धिक सम्पत्ति धितोका रूपमा मान्यता नदिँदा चलचित्र उद्योग नै जोखिममा परेको बताएका छन्। चलचित्रमा लगानी जोखिमपूर्ण हुने सोचका कारण बैंकहरूले ऋण दिन आनाकानी गर्ने अवस्था रहेको उल्लेख गर्दै उनले चलचित्रकर्मीहरूको लागि चलचित्र नै बौद्धिक सम्पत्ति भएको हुनाले बैंकले यसलाई धितोको रूपमा स्वीकार गर्नुपर्ने माग गरेका छन्।

अध्यक्ष दाहालले चलचित्र पूर्णरूपमा सांस्कृतिक सामग्री मात्र नभई सञ्चारको शक्तिशाली माध्यम भएको बताएका छन्। उनले 'कुनै चलचित्रले त २८ हजार ३ सय ५३ रुपैयाँ मात्र कमायो। दुई करोड लगानीमा बनेको सिनेमा २८ हजार कमाउँदा दुई लाख ऋण कहिले बुझाउँछ' भन्दै चलचित्रमा देखिएको आर्थिक जोखिमलाई स्पष्ट पारेका छन्। साथै, मातृभाषामा बनेका चलचित्रका लागि बोर्डले सेन्सर शुल्क हटाउनेगरी काम गरिरहेको जानकारी दिँदै, विदेशी र नेपाली चलचित्रबीच सिनेमा हलमा विभेद हुने भएकाले यसका लागि पनि आवश्यक नीति विधेयकले अंगाल्नुपर्नेमा जोड दिएका छन्।

उनले चलचित्र क्षेत्रमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेगरी सरोकारवालाको सुझावहरू समेत समेटेर विधेयकलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ