बचत फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै सहकारी पीडितको आन्दोलन जारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
989
Shares
काठमाडौँ। सहकारी पीडितहरूले आफ्नो बचत फिर्ता र रकम हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि, बुद्धनगरमा मंसिर ५ गतेदेखि सुरु गरेको प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका छन्।
आन्दोलनमा सहभागी बनेपाको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको गुनासो गरे। छोराछोरी पढाउनका लागि राखेको रकम फिर्ता नपाएको बताउँदै उनले ३ वर्षदेखि सो सहकारी बन्द रहेको र सञ्चालक फरार भएको जानकारी दिए। विगत ३ वर्षमा पीडितहरूले रत्नपार्कमा १०८ दिन र तीनकुनेमा ६३ दिन आन्दोलन गरिसकेको ढकालले बताए।
उनले सरकारले पटकपटक वार्ता गरे पनि माग पूरा नगरेको र जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफूहरूको माग पूरा गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। कतिपय पीडितहरू डिप्रेशनको शिकार बनेको र आफू पनि औषधि सेवन गरिरहेको जानकारी दिँदै उनले सरकारले चाहेमा पीडितको रकम फिर्ता गर्न सक्नेमा जोड दिए।
प्रदर्शनमा सहभागीहरूले 'सहकारी पीडितलाई न्याय दे', 'वचतकर्ताको सम्पूर्ण वचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो', 'भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ', 'सम्पूर्ण पीडितको वचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ', र 'सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ?' लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।