arrow

जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी एउटै चिन्हमा निर्वाचन लड्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
jasapa-nepal-chunab.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जसपाको नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने र निर्वाचनपछि पनि कुनै कम्युनिष्ट पार्टीमा मिसिने सम्भावना नरहेको जिकिर गरे । 

उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीमा एकता हुँदैन, टुंगो लागिसक्यो । हामी तीन ओटा दल मिलेर चुनाव चिन्हमा चुनाव लड्दैछौँ । चुनाव पछि कुनै कम्युनिष्ट पार्टीमा मिसिने हाम्रो सम्भावना छैन । जनता समाजवादी पार्टी समाजवादतर्फ अग्रसर हुने, संघीयतालाई आत्मसात गरेको पार्टीको रुपमा रहन्छ । पुष्पकमल दाहालसँग सके एकीकरण नसके चुनावी मोर्चा बनाएर जाऔँ भन्नेकुरा भएको हो । मैले निरन्तर एकीकरण सम्भव छैन, चुनावी मोर्चा गरेर जाऔँ भनेको थिएँ, चुनावी मोर्चा नबनाऔँ भन्नेमा टुंगो लागेपछि तीन ओटा दल मिलेर चुनावी मोर्चा बनाएँ ।’

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टुट्नु र फुट्नु राजनीतिको संस्कार भएको बताए ।

सबैभन्दा ठूलो कुरा मुद्दा हुने भन्दै आफ्नो मुद्दामा अडिग रहन सक्नुपर्ने बताए। 

उनले भने, ‘टुट्ने फुट्ने भनेको राजनीतिक संस्कार हो । सबैभन्दा ठूलो कुरा मुद्दा हो । मुद्दा उडेको देखियो भने समात्न खोज्ने हो । देश रहेन भने केको अधिकारी ? केको थारु देश ठूलो कुरा हो ।’

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मूल्य, मान्यताको आधारमा एकीकृत हुनसके विभाजन कम हुने बताए। तर आफूहरू एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ निर्वाचन आयोग पुगेको बताए ।

आफूहरू खास उद्देश्य र लक्ष्यका साथ सहकार्य गरिरहेको उनले बताए । 

उनले भने, ‘मुख्य रुपले मूल्य, मान्यताको आधारमा एकीकृत भयो भने त्यो विभाजन कम हुन्छ । हाम्रो यो अहिले एकल चुनाव चिन्हमा तीन ओटा दल जाने निर्णय गरेका छौँ। यो खास उद्देश्य र खास लक्ष्य प्राप्तिका लागि सहकार्य गर्ने निर्णय गरेका हौँ । देशमा अधिकार पहिचान, सुशासन, सभ्यता, संस्कृतिको सवालमा एकजुट हुनेछौँ ।’

निर्वाचन आयोगमा हालसम्म एक सय एक ओटा राजनीतिक दलहरुको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ