दलहरू निर्वाचनका लागि तयार भइसकेको सरकारको दाबी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
762
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइसकेको बताएका छन् ।
मंगलबार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उनको सो प्रतिक्रिया आएको हो ।
मन्त्रीपरिषद् बैठकमा निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले अब निर्वाचन हुँदैन कि भन्ने आशंका गर्ने ठाउँ नरहेको समेत बताए ।
उनले निर्वाचनका लागि राजनीतिक दलहरूको तर्फबाट माहौल बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पारे ।
मन्त्री खरेलले भने, ‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अघि बढाएको छ । महत्वपूर्ण प्रायः सबै राजनीतिक दलहरूले निर्वाचन आयोगमा दर्ता भईसकेका छन । तपाइँले अघि कुरा उठाउनु भएको राजनीतिक दलले पनि आज दल दर्ता र नवीकरणको काम अगाडि बढाइसकेको छ । अरु राजनीतिक दलहरूले पनि दल दर्ता अगाडि बढाइसकेका छन । निर्वाचन प्रयोजनका लागि जुन राजनीतिक दलहरूले दल दर्ता गरिसके । हामी निर्वाचनको विरोधी होइन भनिरहेका छन् । सुरक्षाको वातावरण बनाउन भनिरहेका छन् । गाउँ, टोलदेखि जिल्ला हुँदै क्षेत्रसम्म निर्वाचन लक्षित विभिन्न कार्यक्रमहरू गरिसकेका छन भनेपछि अव के आशंका रहेन भने अव सबै राजनीतिक दलहरू चुनावका लागि तयार भइसके । जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनाँै कि भन्ने जस्तो आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा राजनीतिक दल दर्ता, नवीकरण गरिसक्नुभएपछि अब निर्वाचनको माहौल राजनीतिक दलको तर्फबाट बनिसक्यो । मतदाता नामावली दर्ता गरेर आठ लाख भन्दा बढी मतदाता नामावली दर्ता भईसक्यो भनेपछि जनता निर्वाचनमा होमिसके । सुरक्षा योजना तयार भइसकेको छ । यहाँहरूलाई जानकारी गराउ । निर्वाचनको प्रयोजनका लागि सुरक्षा योजना तयार गरेर सुरक्षा निकायले तत्तत ठाउँमा त्यो योजना पठाएको छ । र कार्यान्वयन हुने अवस्था छ । अब हामी एक हिसावले चुनावको थप माहौल बनाउन, यसको माहौल झन प्रगाढ र थप स्पष्ट बन्दै गईसकेको कुरा म निवेदन गर्दछु ।’
त्यस अवसरमा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार आफूलाई अघि बढाएको दाबी समेत गरे ।