देउवाको नेतृत्वमा कांग्रेस चुनावमा जाँदैन, विशेष महाधिवेशन हुन्छ - गगन थापा
अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ, त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ, नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
3.3k
Shares
फाइल तस्बिर
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा नजाने स्पष्ट पारेका छन् । उनले पार्टीको विधानअनुसार समयभित्रै विशेष महाधिवेशन गरी त्यहीँबाटै सभापतिको निर्वाचन हुने र नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनावमा जाने बताएका हुन् ।
आफूलाई निरन्तर देउवाकै नेतृत्वमा कांग्रेसले चुनाव लड्ने भएको हो भनी प्रश्न भइरहेको भन्दै त्यसको जवाफ सामाजिक सञ्जालबाट दिँदै उनले स्पष्ट पारेका हुन् ।
महामन्त्री थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै यसमा अलमलमा नपर्नसमेत कांग्रेस नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
उनले लेखेका छन्, 'बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?
मैले भने; होइन।
साथीहरूले फेरी सोध्नुभयो कसरी?
मैले भने; प्रष्ट छ - अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।
यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन।
कुरा स्पष्ट छ, अलमलमा नपरौं।