ओलीको आरोप - वर्तमान सरकारले 'खुलेआम भ्रष्टाचारका काण्ड' मच्यायो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
966
Shares
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले 'खुलेआम भ्रष्टाचारको काण्ड मच्चाएको' आरोप लगाएका छन्।
मङ्गलबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दै उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत खरिद र बिक्रीमा करोडौँ घोटाला गरेको र विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाएको भन्दै आपत्ति व्यक्त गरे।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भए पनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर गरे।
"अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत खरिदका, विद्युत विक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन त? अहिले जुन देखिएको छ, त्यो त देखिएको थिएन। यस्तो कुशासन पनि देखिएको थिएन।"
अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकलाई विकासहीनता, अराजकता र अन्योलग्रस्त अवस्थामा पुर्याएको समेत बताए।