arrow

अध्यक्ष ढकाललाई कोशेली, धादिङको एक डाली मास !

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
chandra-dhakal-dali-dhanging-2082.jpg

काठमाडौँ। चोयाले बुनेको चिटिक्कको डाली। अनि डालीभरि कालो मास। मास पनि धादिङको। जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो। मलेखु भएर काठमाडौँ भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ यहाँको मास र गेडागुडी।

धादिङको नीलकण्ठ नगरपालिकामा बिहीबार आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरूप टक्र्याइएको जिल्लाको यो रैथाने उत्पादनको जिल्लामा निकै चर्चा भयो। धादिङ जिल्ला उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डालीभरि मास दिएपछि अतिथिहरू आश्चर्यमा परे र जिल्लाका मिडियामार्फत बिहीबार एक डाली मासको चर्चा पनि चल्यो। 

कार्यक्रमको आयोजक थियो जिल्ला उद्योग वाणिज्य सङ्घ, धादिङ र प्रमुख अतिथि थिए नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल। अनि प्रसङ्ग थियो सङ्घको ३२ औँ वार्षिक साधारण सभा समारोह।

कार्यक्रम सकियो, अतिथिहरूको विदाइका तरखर सुरु भयो। अतिथिहरूलाई मायाको चिनो प्रदान गर्ने क्रममा डालीभरि मास लिएर आए जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटी। परैबाट के होला कोशेली भनेर छुट्टाउन नसके पनि नजिकै उपस्थित हुनेहरूले थाहा पाए मास भनेर।

प्रमुख अतिथि ढकाल लगायत त्यहाँ उपस्थित अन्य विशिष्ट अतिथिहरूले खुसी र श्रद्धापूर्वक धादिङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरे लगत्तै कार्यक्रम स्थलमा सुरु भएको थियो मासको महत्वको चर्चा। धादिङमा ठूलो मात्रामा मासको उत्पादन हुने गर्दछ र यहाँको मासको चर्चा देशका अरू जिल्लाहरूमा पनि हुने गर्दछ।

यस्ता समारोह तथा कार्यक्रमहरूमा मायाको चिनोका रूपमा प्रायः आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा सङ्घले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिन, मुलुकका उद्योगी व्यवसायीहरूका नेता ढकालमार्फत आफ्नो स्थानीय उत्पादनको प्रवर्धन गर्न तथा धादिङको मासको देशव्यापी प्रचार गर्न यो उपहार दिएको अध्यक्ष डल्लाकोटीले बताए। 

सो उपहार प्राप्त गरेपछि अध्यक्ष ढकालले आफू सदैव स्वदेशी उत्पादनको प्रवर्धन गर्न, रैथाने एवं स्थानीय वस्तुहरूलाई उचित बजारको प्रबन्ध गर्न तथा स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न लागि परेकाले यस्ता उपहारहरू र तिनको प्रचारबाट निकै खुसी हुने धारणा पनि राखे। 

अध्यक्ष ढकालले भने “यो उपहारले प्लास्टिकजन्य सामग्रीबाट बन्ने झोला आदिका ठाउँमा चोयाको डालीले काम गर्छ र नेपालमा प्लास्टिकका वस्तुहरूले स्थानीय बाँस, निगालोको चोयाबाट बन्ने डाली, डोका आदि सामग्रीहरू विस्थापित भइरहेका बेला तिनको प्रयोग र संरक्षणको सन्देश पनि डालीले दिन सक्छ भन्ने मलाई लाग्दछ।”

यसअघि पनि उनलाई यसै गरी जिल्लाका उद्योगी व्यवसायीहरूले स्थानीय उत्पादनको प्रवर्धन हेतु यस्तै स्थानीय एवं रैथाने उत्पादनहरू उपहारस्वरूप प्रदान गर्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ