महाधिवेशन गरेको कांग्रेसले देश सम्हाल्छ – गगन थापा
पहिले महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा गइ देश सम्हाल्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
3.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनबाट आएको नेतृत्वले देश सम्हाल्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेस चुनावमा जाने भएकाले पहिले महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा गइ देश सम्हाल्ने बताएका हुन् ।
उनले महाधिवेशन नगरी चुनावमा गएको कांग्रेसले उपलब्धि हासिल गर्छ भन्ने आफूलाई विश्वास नभएको पनि दाबी गरे । उनले भने, ‘ महाधिवेशन नगरी निर्वाचनमा जान्छौँ र त्यो निर्वाचनमा शानदार तरिकाले जित्छौँ भन्नेकुरा मलाई पटक्कै लाग्दै लाग्दैन । यो पार्टीपंक्ति परिचालित भएरमात्र हुन्छ भन्ने मलाई लाग्दैन । त्यस्तो निर्वाचन त्यसरी गएर अर्थ पनि हुँदैन । त्यसकारणले गर्दा महाधिवेशन यसकारणले गर्नुपर्छ । महाधिवेशन गरेको कांग्रेसले देश सम्हाल्छ ।’
उनले कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णयलाई दुनियाँले कुरेर बसेको भन्दै भने, ‘महाधिवेशन हाम्रो आन्तरिक कुरा होइन राष्ट्रिय कुरा हो । यो हाम्रो निष्कर्षका साथ साथीहरुका बीचमा जाऔँ भन्ने आग्रह गर्छु ।’
उनले चुनावमा जानका सरकारले वातावरण बनाउनु पर्ने र त्यसका लागि कांग्रेसले सघाउने बताए । उनले भने, ‘हामी चुनावमा जाने हो । दायाँ बायाँ कुरा केही पनि छैन । चुनावले संसद ल्याउँछ । चुनावको वातावरण सरकारले बनाउँछ । सरकारले बनाउनैपर्छ । सरकारले बनाउने कुरामा मद्धत गर्न तयार छौँ ।’
उनले चुनावका लागि पहिले कार्यतालिका बनाएरमात्र कार्यान्वयनमा जानुपर्ने पनि बताए । तर चुनावको तयारी गर्नुअघि विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताए ।
उनले पर्यवेक्षकलाई कौतुहल पैदा गर्ने गरी भने, ‘हामीले विशेष महाधिवेशनको निर्णय गर्नुपर्छ । गर्दैगर्दा यति गते विशेष महाधिवेशन हुन्छ । विशेष महाधिवेशनमा नयाँ कुरा आउँछ भनेर फाल्नुपर्छ देश हामीलाई कुरेर बस्छ नि अनि । किन अहिले केन्द्रीय समिति बैठक लामो भयो भनेर आत्तिने ?’
उनले चुनावका लागि कांग्रेस नेतृत्व लिएर अगाडि बढ्ने विश्वास गर्दै अगाडि भने, ‘त्यो विशेष महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर जिम्मेवारी लिएर आइसकेपछि हाम्रो पछि आउँछन् सबै । हामीले कुरा गर्ने हो नि नेकपा एमालेसँग, माओवादीसँग अनि हामी सम्हाल्छौँ । हामी डोहोर्याउँछौँ । हामीले भन्ने हो नि त । त्यो कांग्रेस हो नि हामी । त्यो जिम्मेवारी पूरा गर्ने हो नि । त्यो जिम्मेवारी पूरा गर्नका निम्ति सभापति ज्यू मेरो आग्रह छ हामीले समयमै विशेष महाधिवेशन गरौँ ।’