arrow

समितिको बैठकमा गृहमन्त्री 

खुंखार अपराधीहरूसहित पाँच हजार भन्दा बढी कैदीबन्दी अझै फरार, दुई महिनापछि बल्ल खोजी गर्न कार्यदल [भिडियो]

फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
om-aryals.jpg

काठमाडौँ। खुंखार अपराधीहरूसहित पाँच हजार भन्दा बढी कैदीबन्दी अझै फरार रहेको गृह मन्त्रालयले जनाएको छ। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरूमध्ये अझै पाँच हजार १३ जना फरार रहेको बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन्।

उनका अनुसार जेन–जी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागारबाट कुल १४ हजार ५ सय ५४ जना कैदीबन्दी भागेकोमा हालसम्म ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको छ।

देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको उनले बताए। उनले फरार कैदीहरूको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएकोसमेत जानकारी गराए।

दुई महिनापछि बल्ल खोजी गर्न कार्यदल गरेको पनि  गृहमन्त्रीले  बताए । उनले फरार कैदीको खोजीका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षा तहमा विशेष अपरेसनसमेत जारी रहेको बताए ।

उनले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताए।

यसै सन्दर्भमा उनले जेन–जी आन्दोलनका घाइतेहरूलाई परिचयपत्रसहित निःशुल्क उपचारको व्यवस्था मिलाइएकोसमेत बताए । साथै विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको पनि जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ