arrow

 ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’

निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ: चन्द्रप्रसाद ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
chandra-dhakal-2.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएका छन्।

महासङ्घले आज आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गरे। उनले राज्यले निजी क्षेत्रको योगदानलाई आत्मसात् गर्दै आमसर्वसाधारणलाई पनि बुझाउने गरी मन्त्रिपरिषद्बाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्न आवश्यक रहेको बताए।

अध्यक्ष ढकालले दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास आवश्यक रहेको बताउँदै भने, "यसका लागि सबै राजनीतिक दल, युवा पुस्तालगायत सरोकारवालासँगको संवाद र सहकार्यमा समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता हो।" उनले अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई 'फल दिने वृक्ष' भनेको स्मरण गराउँदै यसलाई मलजल गरी संरक्षण गर्न सकिए मात्रै मुलुकले अधिकतम लाभ लिनसक्ने र समृद्ध बन्ने बताए।

महासङ्घले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा रु ४८ अर्बको भौतिक क्षति भएको र यसबाट निजी क्षेत्रको करिब रु ८८ अर्ब बराबर नोक्सानी भएको अध्यक्ष ढकालले बताए।

उनले आन्दोलनका क्रममा उद्यमी व्यवसायीका शयन कक्षसम्म लुटपाट भएको र व्यापार व्यवसायमा आगलागी भएको घटनाले सबैलाई आत्मसमीक्षा गर्न बाध्य पारेको बताए। साथै, आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नहुने हो भने दण्डहीनता मौलाउने उल्लेख गर्दै दोषीलाई कुनै पनि नाममा प्रश्रय दिन नहुनेमा जोड दिए।

ढकालले नेपालमा केही पनि हुँदैन भन्ने नकारात्मक भाष्य चिर्नका लागि महासङ्घको पहलमा नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श र गैरआवासीय नेपाली सङ्घसमेतको संलग्नतामा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) कम्पनी स्थापना भएको उल्लेख गरे। यस कम्पनीले मुलुकभर छरिएर रहेको आन्तरिक पुँजी सङ्कलन गरी ठूला पूर्वाधारका परियोजनामा लगानी गर्ने र आन्तरिक पुँजीबाट पनि ठूला परियोजना गर्न सकिने सन्देश दिने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ