मतदाता परिचय पत्र बनाउन प्रधानमन्त्री कार्कीको आह्वान [भिडियो]
हरेक योग्य नागरिकलाई आफ्नो विवेक प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफैँ पनि सही प्रतिनिधि बन्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
1k
Shares
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले 'यथार्थको नेपाल' निर्माणका लागि हरेक योग्य नागरिकलाई मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छिन्।
शुक्रवार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभुत साधनहरू विवेक र मतदान भएको बताएकी छिन्। उनले समस्त नेपालीको सपना नेपाललाई यथार्थको नेपाल बनाउनका लागि सबैभन्दा पहिला मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, "लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभुत साधन छन्। पहिलो तपाईं हामी नागरिकको विवेक हो। दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन तथा मतदाता परिचय पत्र हो।" उनले हरेक योग्य नागरिकलाई आफ्नो विवेक प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफैँ पनि सही प्रतिनिधि बन्न आग्रह गरेकी छिन्।
उनले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्नका लागि नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय पत्र बनाई मताधिकारको सदुपयोग गर्न पनि आग्रह गरेकी छिन्।