हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न हुँदैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
993
Shares
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरी कन्क्लेभ’मा उनले यस्तो टिप्पणी गरेका हुन् । भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उनको धारणा छ । उनले जेन-जी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताए ।
उनले भने, ‘नेपालको लागि हिंसा र विध्वंश एउटा नियमित आकस्मिकता जस्तो भयो । १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुंगिएको हो । अहिले पनि त्यसको उत्पादन समाजमा छ । जेन-जी युवाले एउटा फूल पनि भाँच्दैनौँ, प्रहरीसँग वादविवाद गर्दैनौँ भनेर आन्दोलन शुरू गर्नुभएको थियो । तर जसरी २३ गतेको हिंसा र २४ भदौको देश दोहनलाई परिवर्तन ठानेर त्यसको महिमामण्डन गर्नुपर्छ भन्ने म बेल्कुलै ठान्दिनँ ।’
उनले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको अजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गरे । उनले २०४६ साल यताका भ्रष्टाचारका काण्डको छानविन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिए ।