कांग्रेस बैठकमा महामन्त्री थापाले भने – महाधिवेशन नगरी कुनै पनि हालतमा जनतामा जान सकिन्न
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
2.9k
Shares
काठमाडौँ । नेपाली कांगेस महामन्त्री गगन कुमार थापाले पार्टीको १५औँ महाधिवेशन निर्वाचन अघि कुनै पनि हालतमा गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको साेमबार बसेकाे केन्द्रीय समिति बैठकमा महाविधेशनको कार्यतालिका प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
चौबीस घण्टामा देश उथलपुथल हुन सक्यो भने ६४ दिनमा पार्टीको महाधिवेशन गर्न नसक्नुको कुनै कारण नरहेको उनले स्पष्ट पारे । हामी झगडा गर्न तिर लाग्यौँ भने मात्र महाधिवेशन गर्न नसकिने भन्दै उनले यो बाहेक महाधिवेशन रोक्ने कुरा अन्य कुनै नभएको स्पष्ट पारे ।
यसअघि केन्द्रीय महाधिवेशनको तिथिमिति घोषणा गरेपछि मात्रै निर्वाचन कार्यतालिका बनाउने गरिएको र कार्यतालिकामा नयाँ र क्रियाशील सदस्यता नवीकरण गर्ने गरिएको भन्दै महामन्त्री थापाले पार्टीको सदस्यताको धेरै काम सम्पन्न भइसकेको स्पष्ट पारे ।
पार्टी सदस्यता नवीकरणका लागि पार्टीको केन्द्रीय समितिको बैठकले नै असोज मशान्तसम्ममा म्याद दिएको भन्दै उनले अधिवेशनको प्रसंग शुरू भएसँगै पछिल्लो एक महिनामै एकै पटक ६२ जिल्लामा सदस्यता नवीकरण प्रक्रिया अघि पूरा गरेकामा १९ जिल्लाबाट एक लाख १८ हजार सात सय ९४ जनाको नवीकरण भएको जानकारी दिए ।
थापाले २७ जिल्लामा तहगत नवीकरण भई एक लाख ९० हजार चार सय ७० जना गरी ४६ जिल्लाबाट कुल तीन लाख नौ हजार दुई सय ५४ जनाको सदस्यता नवीकरण भई सिस्टममा अपलोड गर्नेक्रममा रहेको जानकारी दिए । उनका अनुसार छ वटा जिल्लामा आन्दोलन र आगजनीका कारण सदस्यता नवीकरणको काम टुंग्याउन ढिलाई भएको तर छिट्टै टुंगिने क्रममा छ ।
सदस्यता नवीकरणको समय एक हप्ता भनेर तोकियो भने सबै काम सम्पन्न हुने महामन्त्री थापाको दावी छ । नयाँ क्रियाशील सदस्यताका लागि केही प्राविधिक काम पूरा गरेमा कुनै समस्या नहुने थापाले जिकिर गरे ।
२०८२ मंसिर १० देखि २० गतेभित्र नयाँ तथा पूरानो सदस्यता टुंग्याउने र करिब पाँच लाख नयाँ सदस्यता थप गर्ने लक्ष्य रहेको महामन्त्री थापाले बताए । यसअघि तीन महिनामा गर्ने गरिएको काम यस पटक एक महिनामा गर्न सामथ्र्य कांग्रेससँग भएको उनले बताए ।
उनले पार्टीको सदस्यता सबैका लागि खुला र सहज बनाउनुपर्ने बताए । उनका अनुसार, अब पार्टीका सदस्यहरू केवल नामका मात्र होइन, निर्णय प्रक्रियामा बराबर सहभागी हुने सुनिश्चितता गर्नुपर्छ ।
मंसिर २७ मा सबै वडामा वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधि सभा, क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने, पालिका, जिल्ला र प्रदेशको अधिवशन पुस १६ गतेभित्र सक्ने तालिका बनाएको महामन्त्री थापाले प्रस्तुत गरे ।
विधान संशोधनका विषयमा धेरै कुरा गर्न बाँकी रहेको भन्दै उनले पार्टीका सबै तहमा कहाँ के समस्या छ त्यसलाई ध्यान दिन आवश्यक रहेको उनले बताए । उनले पार्टीका प्रत्येक क्रियाशील सदस्यले उम्मेद्वार छान्ने विषय पनि यसै पटक विधानमा समावेश गर्नुपर्ने बताए ।
दुई महामन्त्रीले पार्टी कब्जा गर्न खोजेको भन्ने आरोपप्रति दुःख व्यक्त गर्दै आफूहरूको कुनै व्यक्तिगत आकांक्षा नरहेको उनले स्पष्ट पारे ।
पार्टीका तलका साथीहरू निकै आत्तिएको र हल्लिएको अवस्थामा रहेको भन्दै महामन्त्री थापाले सरासर गएर ढ्वाङ थाप्दैमा मत पाउने अवस्था नभएको बताए। तल सोचेजस्तो सजिलो अवस्था नभएको भन्दै उनले यसपटक आफूलाई नयाँ नबनाई तल जानै नसकिने स्पष्ट पारे ।
पुसभित्र महाधिवेशन गर्न सक्दै सकिन्न भन्ने लाग्छ भने कम्तीमा विशेष महाधिवेशन भए पनि गर्नैपर्नेमा जोड दिँदै थापाले योबाहेक अन्य विकल्प नभएको बताए ।
निर्वाचनमा जानु अघि अधिवेशनबाट आफूहरूलाई निर्वाचनमा योग्य बनाउन जरुरी रहेको थापाले बताए । उनले पार्टीका सबै तहमा नयाँ पुस्ता, महिला र विविध समुदायको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
वडास्तरदेखि केन्द्रीय तहसम्म ३० वर्षमुनिका युवाहरू अनिवार्य सहभागी हुने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । 'अब नेतृत्व पुस्तान्तरणको कुरा केवल नारामा सीमित रहनु हुँदैन,' उनले भने, 'निर्णय तहमा नयाँ पुस्ताको प्रवेश नै पार्टीको जीवन्तताको आधार हो ।'
थापाले उम्मेदवार छनोटको विषयमा पनि मौलिक प्रस्ताव अघि सारे । उनका अनुसार, स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको नेतृत्व छनोट गर्दा पार्टीका सक्रिय सदस्यहरूले नै आफ्नो क्षेत्रमा योग्य र लोकप्रिय व्यक्तिलाई प्राथमिकताका आधारमा छनोट गर्ने प्रणाली बनाउनुपर्छ ।
यसरी सदस्यहरूले गरेको प्राथमिक छनोट नै पार्टीका उम्मेदवार छनोटको आधार बन्नुपर्ने उनको तर्क थियो । यसबाट नेताहरू माथिबाट थोपर्ने संस्कृतिको अन्त्य हुने र आन्तरिक लोकतन्त्र बलियो हुने उनको विश्वास थियो ।
यस पटक जनताले कांग्रेसलाई स्वीकार्ने अवस्था नभएको भन्दै थापाले नागरिकसँग संवाद नगरी केही गर्न नसक्ने ठोकुवा गरे । उनले नागरिकसँग जोडिने कुरा भएकाले हाम्रो मूल्य र मान्यता नबदलिने तर हामी बद्लिएर आएको भन्ने देखाउन आवश्यक रहेको बताएका छन् ।
कांग्रेसले यसअघि गरेका सबै काम खारेज भएको भन्दै महाधिवेशन नगरी कुनै पनि हालतमा जनतामा जान नसकिने उनले स्पष्ट पारे ।