काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालमा भएको ‘जेन–जी आन्दोलन’ पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको एउटा नियोजित रणनीति भएको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पश्चिमा पुँजीवादीहरूले ‘डिप स्टेट’ को अवधारणा अन्तर्गत विश्वव्यापी रूपमा ‘कलर रिभोलुसन’ गर्ने उद्देश्यले युवाहरूलाई प्रयोग गरेको बताए। उनले युवाहरूलाई ‘तिमी आम मानिसभन्दा फरक छौँ’ भन्ने नियोजित मनोविज्ञान तयार गरी, ‘पुरानो पुस्ताले तिमिहरूको मनोविज्ञान बुझ्न सक्दैन’ भन्ने भाष्य सिर्जना गरेर आफ्नो स्वार्थमा प्रयोग गरेको दाबी गरे।
महासचिव पोखरेलले जेन–जी युवाहरूले अगाडि सारेका भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालको निर्बाध प्रयोग जस्ता मागहरू जायज रहेको बताए। उनले भने, यी मागहरू सरकारले पूरा गर्न नसक्ने पनि थिएन।
तर, उनले समस्या मागमा नभई त्यसको प्रस्तुतिमा रहेको दाबी गरे। “उनीहरूले राखेका मागहरू सरकारसमक्ष प्रस्तुत नै भएनन्। कसले यो आन्दोलनको नेतृत्व गरिरहेको छ भन्ने पूर्ववर्ती सरकारलाई जानकारी समेत रहेन। माग प्रस्तोता नै नहुँदा संवादको विषय पनि भएन,” पोखरेलले स्पष्ट पारे।
महासचिव पोखरेलले आन्दोलनको क्रममा तत्कालीन सरकार सामाजिक सञ्जाल नियमनको विषयमा चुकेको स्वीकार गरे। उनले युवाहरूको सूचना प्रविधिप्रतिको अत्यधिक लगाव (लत) र सरकारको नियमनसम्बन्धी तालमेल नमिलेको स्वीकार गरे।
उनको भनाइमा, “युवाहरूको सूचना प्रविधिप्रतिको लगाव, आशक्ति कुन तहमा छ भन्ने कुरा सरकारले बुझ्न नसक्दा त्यसको लाभ गलत तत्वहरूले उठाए।” उनले पुँजीवादी शक्तिहरूले युवाहरूलाई लागुऔषध र प्रविधिको लतमा फसाएर आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको दाबी समेत गरे।