सामुद्री चक्रवात अबको दुई दिनभित्र नेपाल प्रवेश गर्ने
बंगालको खाडीको चक्रवात ‘मोन्था’ नेपाल प्रवेश गर्दै, भारी वर्षा र बाढीको चेतावनी [भिडियो]
चक्रवातको प्रभाव बिहीबार कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबार दिउँसोसम्म रहने पूर्वानुमान, वागमती र कोशी प्रदेशका माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
1.2k
Shares
काठमाडौं। बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक सामुद्री चक्रवात अबको दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जानकारी दिएको छ। हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको यो चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बताए।
चक्रवातले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएका कारण नेपालको विशेषगरी कोशी प्रदेश र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना देखिएको छ। यसको प्रभाव वागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिन सक्नेछ। पराजुलीका अनुसार, चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिवार दिउँसो) सम्म रहने पूर्वानुमान छ र यो अवधिमा वागमती र कोशी प्रदेशका माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ।
नदीहरूको अवस्थाबारे बोल्दै पराजुलीले ठूला नदीहरू (वागमती र कोशी) को बहाव सामान्य अवस्थामा रहे पनि चक्रवातका कारण जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए। ठूला नदीमा ठूलो बाढीको जोखिम कम भए पनि जलसतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। साथै, मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालाहरूमा भने तीव्र बहाव वा आकस्मिक बाढीको सम्भावना रहेकाले कात्तिक १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन उनले अनुरोध गरे।
यसैबीच, जल तथा मौसम विभागका प्रवक्ता विभूति पोखरेलले मंगलवार (आज) पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभावले गर्दा हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको र यसले पर्वतारोहण तथा दैनिक जनजीवनमा असर पार्न सक्ने जानकारी दिए। बुधवारदेखि मौसममा सुधार आउने भए तापनि बिहीवारबाट चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले पुनः मौसम प्रभावित हुनेछ।