यसरी हुँदैछ एमाले पार्टी कार्यालय पुनर्निर्माण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
1k
Shares
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यालय आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरे ।
आगजनीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए । आगजानीले भवन जीर्ण बनेका छन् । हाल क्षतिग्रस्त पार्टी कार्यालयमा राजनीतिक दलहरूले सरसफाई गरेर आफ्ना नियमित काम गर्न थालेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले पार्टीको पुनर्निर्माणको कामसमेत थालनी गरिसकेको छ । राजनीतिक दलहरूले हाल भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्याङ्कन, डिजिटल र प्रशासनिक डाटाको पुनःसंरचना, आकस्मिक रूपमा उपलब्ध स्रोतबाट कार्यालय सञ्चालन निरन्तर राख्ने, स्थायी पुनर्निर्माणका लागि योजना र स्रोत व्यवस्थापनका कार्यलाई प्राथामिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन् ।
नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी कार्यालयमा रहेको सबै भौतिक सामन र पार्टीका दस्तावेज आगोले नष्ट भएका छन् ।
उनले करिब १० करोड बराबरको सामग्री र भवनको क्षति भएको बताए । उनले कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर तथा अन्य आवश्यक सामग्री खरिदका लागि प्रवासमा रहेको पार्टीका सदस्यले सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
उनले हाल अस्थायी टेन्ट हालेर पार्टीको नियमित कार्य सञ्चालन गरेको बताए । भवन पुनर्निर्माणका लागि क्षतिग्रस्त भवनको इन्जिनियरिङ जाँच भइसकेको उनले जानकारी दिए। उनका अनुसार छ ओटा कोठा पूर्णरुपमा नोक्सान भएका छन् ।
यसलाई कम खर्चमा एक महिनाभित्र पुनर्निर्माण सक्नेगरी काम अघि बढाइएको कार्यालय सचिव डा.अधिकारीले जानकारी दिए ।
उनले भने, ‘हामीले पुनर्निर्माणका लागि सबैभन्दा पहिला भवनलाई इन्जिनियरबाट भवनको परीक्षण गरायौँ। भवनको परीक्षण गराइसकेपछि हाम्रा छ ओटा कोठा आगजानीका कारणले पुरै ड्यामेज भएको स्थिति छ । त्यसलाई आगजनीको कारणले ड्यामेज भएको भवन निर्माणको लागि विशेष किसिमको तरिका अपनाइरहनुभएको छ। अरु आगलागीबाट भएका क्षतिको बारेमा हामीले भवनलाई पुननिर्माण गरेर अघि बढाउन लागिरहेका छौँ । काम शुरू भइसकेको छ ।’
उनले हालै सहयोगी दाताको सहयोगमा पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक सम्पन्न गरेको जानकारी दिए ।
उनले पार्टीको महाधिवेशन आउन लागेकोले अस्थायी रुपमा कार्यालयमा टेन्ट हालेर संगठनको काम थालिएको बताए । उनका अनुसार एमालेको महाधिवेशन आउन सात हप्ता मात्रै बाँकी छ ।