arrow

घिमिरे दम्पत्तीको मेहनतः बाँझो जग्गा फलफूल खेतीले हराभरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
praladh-ghimire-ramechhap.jpg

रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कका प्रह्लाद घिमिरेका दम्पत्ती अहिले फलफूल खेतीमा रमाएका छन् ।

सरकारी सेवाबाट निवृत्त भएपछि घिमिरेले बाँझो बस्न लागेको आफ्नो जग्गामा विभिन्न जातको फलफूलका बिरुवा लगाएर हराभरा बनाएका छन् । 

घिमिरे दम्पत्तीले आफ्नो सबै जग्गामा अहिले फलफूल खेती शुरू गरेका छन् । रमणीय बगैँचा बनाएका छन् । 

बगैँचामा केरा, आँप, लिची, जुनार, सुन्तला, निबुवा, आँटी, अम्बालगायतका बिरुवा लगाएको शान्ता घिमिरेले बताइन् । 

लगाइएकामध्ये केही बिरुवाले फल दिन लागेका र केही हुर्कने क्रममा रहेका उनले जनकारी दिइन् । 

बिरुवा साना हुँदासम्म बिचमा मकै बाली पनि लगाउने गरेको बताउँदै उनले बिरुवा हुर्किएपछि भने फलफूलको मात्र बगैँचा बनाउने योजना सुनाइन् । 

तीन सय ६५ झाङ केरा लगाउँदा दिनको एक घरी केरा पाक्छ भन्ने पुर्खाहरूको भनाइ रहेको बताउँदै सोही अनुसार आफूले तीन सय ६५ झाङ केरा लगाएको प्रह्लाद घिमिरेले बताए । 

अब कम्तीमा दिनमा एक घरी केरा बिक्री गर्न सकिने उनले सुनाए । अघिल्लो वर्ष लगाएको केरा यस वर्षबाट पसाउन लागेको उनले सुनाए । 

घिमिरेले आफ्नो १५ रोपनी जग्गामा तीन सय बोट आँप, दुई सय बोट लिची, निबुवा, कागती, सुन्तला, जुनार, मरीच, ल्वाङका बिरुवा लगाएका छन् । 

यस्तै १० रोपनी जमिनमा मर्चमाने, मालभोग, झप्री, घ्यूलगायतका विभिन्न जातका केरा लगाएका छन् ।

वरिपरिका जमिन बाँझै बस्दा घिमिरे दम्पतीले बनाएको यो बगैँचले गरे के हुँदैन भन्ने उदाहरण दिएको छ ।

मिहिनेत अनुसार बिरुवाहरू राम्रो फस्टाएका उनीहरूले बताए । ‘बिरुवाहरू राम्रो सप्रिएका छन्, यसरी सप्रिएको देख्दा गरे के हुँदैन र भन्ने लागेको छ’, प्रह्लाद घिमिरेले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ