arrow

बीपी स्मृति दिवसको अवसरमा दोलखामा ‘ग्रीन रन’ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
green-run-dk.jpg

दोलखा। ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ दोलखाले नन्दप्रसाद जानुका फाउन्डेसनसँगको सहकार्यमा ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । स्वस्थ्य जीवनशैली, स्वच्छ वातावरण र हरित सोचको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता साउन ६ गते चरीकोट, दोलखामा सञ्चालन हुनेछ ।

ग्रीन रनमा दुई विधा समावेश गरिएको आयोजकले जनाएको छ । पहिलो, अन्तरविद्यालय स्तरीय दौड, जसमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । दोस्रो, खुला प्रतियोगिता, जसमा सबै उमेर समूहका इच्छुक व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

अन्तरविद्यालय स्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खुला प्रतियोगितामा दौड पूरा गर्ने सबै सहभागीलाई विशेष सम्मान गरिने व्यवस्था गरिएको छ।

करिब ३ किलोमिटर लामो दौड सातदोबाटो–धेवापानी–सिमपानी–डुडिखेल–बजार क्षेत्र हुँदै पुनः सातदोबाटो पुगेर सम्पन्न हुनेछ ।

सहभागीहरूले बिहान ७:३० बजेभित्र नाम लेखाई खेलाडी नम्बर (स्टिकर) लिनुपर्नेछ भने दौड बिहान ८:०० बजे शुरू हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ।

प्रतियोगिताको मूल नारा “स्वस्थ शरीर, स्वच्छ वातावरण; हरियो सोच, उज्ज्वल भविष्य” रहेको छ । आयोजकले वातावरण संरक्षण, स्वस्थ्य जीवनशैली र सामाजिक सचेतनाको सन्देश प्रवाह गर्ने यस कार्यक्रममा विद्यार्थी, युवा तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ