लगाइएकामध्ये केही बिरुवाले फल दिन लागेका र केही हुर्कने क्रममा रहेका उनले जनकारी दिइन् ।
बिरुवा साना हुँदासम्म बिचमा मकै बाली पनि लगाउने गरेको बताउँदै उनले बिरुवा हुर्किएपछि भने फलफूलको मात्र बगैँचा बनाउने योजना सुनाइन् ।
तीन सय ६५ झाङ केरा लगाउँदा दिनको एक घरी केरा पाक्छ भन्ने पुर्खाहरूको भनाइ रहेको बताउँदै सोही अनुसार आफूले तीन सय ६५ झाङ केरा लगाएको प्रह्लाद घिमिरेले बताए ।
अब कम्तीमा दिनमा एक घरी केरा बिक्री गर्न सकिने उनले सुनाए । अघिल्लो वर्ष लगाएको केरा यस वर्षबाट पसाउन लागेको उनले सुनाए ।
घिमिरेले आफ्नो १५ रोपनी जग्गामा तीन सय बोट आँप, दुई सय बोट लिची, निबुवा, कागती, सुन्तला, जुनार, मरीच, ल्वाङका बिरुवा लगाएका छन् ।
यस्तै १० रोपनी जमिनमा मर्चमाने, मालभोग, झप्री, घ्यूलगायतका विभिन्न जातका केरा लगाएका छन् ।
वरिपरिका जमिन बाँझै बस्दा घिमिरे दम्पतीले बनाएको यो बगैँचले गरे के हुँदैन भन्ने उदाहरण दिएको छ ।
मिहिनेत अनुसार बिरुवाहरू राम्रो फस्टाएका उनीहरूले बताए । ‘बिरुवाहरू राम्रो सप्रिएका छन्, यसरी सप्रिएको देख्दा गरे के हुँदैन र भन्ने लागेको छ’, प्रह्लाद घिमिरेले भने ।