भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे वर्षाले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ ।
समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान वर्षासँगै राहत महसुस गर्न थालेका हुन् ।
विशेषगरी गहुँ, मकै, आलु तथा तरकारी बालीका लागि यो वर्षा निकै उपयोगी भएको टेम्केमैयुङ-५ का किसान अडिबहादुर विष्टले बताए । खडेरीका कारण सुक्दै गएका हिउँदे बाली वर्षापछि पुनः सप्रिने आशा पलाएको उनको भनाइ छ ।
वर्षाअघि अत्यधिक सुक्खा माटोका कारण बाली ओइलिन थालेका थिए । तर, पानी परेसँगै खेतबारीमा आवश्यक चिस्यान पुगेपछि बालीमा पुनः हरियाली देखिन थालेको किसानहरूले बताएका छन् । यसले उत्पादन वृद्धि र बालीको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।
सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि वर्षा झन् राहत बनेको छ ।
साथै, मकै छर्ने समयमा पानी परेकाले खेतीपातीका काममा सहजता आएको स्थानीयको भनाइ छ ।