काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आज सप्तकोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताए । जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिए ।
प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालको छ । प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
साथै, सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणको अनुरोध छ ।
देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना, सरकारले अवस्था हेरेर मात्रै सवारी चलाउन दिने
सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।
देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताए ।
“जोखिमको अवस्थालाई मध्यनजर गर्दै पहिरो जाने सम्भावना भएका जिल्लामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका थियौँ”, निमित्त कार्यकारी प्रमुख कोइरालाले भने, “आज पनि मौसम र सडकको वास्तविक अवस्था मूल्याङ्कन गरेरमात्रै सवारी सञ्चालन खुला गरिनेछ ।”
निमित्त कार्यकारी प्रमुख कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ । जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ ।
प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सडकसम्बन्धी आधिकारिक सूचना पछ्याएरमात्रै यात्रा गर्न, जोखिमयुक्त सडकखण्डमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
यता देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।
हाल देशभर बदली भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ । हिमाली,पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति पनि देशभर अधिकांश बदली हुनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति नै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।